१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

निर्मला हत्या प्रकरणको डर लाग्दो पाटो, रेडियो थाहा सञ्चारको त्यो समाचार किन रोकियो ?

१ कात्तिक, काठमाडौँ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बालात्कारपछि हत्या भएको झण्डै तीन महिना हुन लाग्यो तर आजका दिनसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।  निर्मलाको बलात्कारपछि हत्या भएपछि ठूलो आन्दोलन भयो अझ भनौँ देश नै आन्दोलित बन्यो । तर पनि आजका दिनसम्म प्रहरीले हत्यारा खोज्नेमा भन्दा प्रमाणहरू नष्ट गर्नेमा ऐतिहासिक रेकर्ड नै बनायो । जुन कुरा गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानविन समितिले तयार गरेको प्रतिवेदनले पनि औँल्याएको छ ।

भिभिआइपी हत्यारा नाम दिइएको उक्त हत्यारको पहिचान हुन नसक्दा समग्र प्रहरी संगठन नै बद्नाम बनेको छ । आखिर को हो त त्यो हत्यारा ? यो प्रश्न सबैको चासोको विषय बनेको छ । निर्मला हत्याका बारेमा अनेक टिप्पणी र आशंकाहरू पैदा भए त्यस्ता धेरे आशंकाहरू समाचारको विषय समेत बनेका छन ।

निर्मलाको हत्यापछि दशौँ हजार समाचारहरू प्रकाशित र प्रशारित भए यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूयोर्कमा कालोझण्डाको सामाना समेत गर्नुपर्यो । कतिसम्म भने हत्याराको पहिचान गर्न भन्दा प्रहरीले प्रमाण नष्ट गराउन योजनावद्ध ढंगले काम गरेको विषय सार्वजनिक भएपछि कञ्चनपुरमा हुन खोजेको आन्दोलन विभाजित बन्यो । हिजो निर्मलाले न्याय पाउनुपर्छ भनेर सडकमा गोली खान तयार भएकाहरू सरकारले काम गरिरहेकै छ अहिले आन्दोलननै किन गर्नुपर्यो र ! भन्ने अवस्थामा पुगे ।

यहीक्रममा निर्मला हत्याप्रकरणसँग सम्बन्धित एउटा समाचार गृह मन्त्रालयको निशानामा परेको खुलासा भएको छ । रेडियो थाहा सञ्चार नेटकवर्क ९९.४ मा भदौ अन्तिम साता प्रशारित एउटा समाचार गृहमन्त्रालयको निर्देशनपछि रोकिएको हो । राति ८ बजेको समाचारमा पहिलो हेडलाइन र पहिलो समाचारको रूपमा प्रमुखताका साथ प्रशारण भएको समाचार गृहमन्त्रालयको कडा निर्देशनपछि दोस्रो चरण बज्न पएन । प्रशारणमा रोक लगाएको उक्त समाचार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य माधव दुलाल र पत्रकार राजन सिलवालले वाचन गरेका थिए ।

रेडियोमा कार्यरत पत्रकारहरूका अनुसार उक्त समाचारमा गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक थापाको सन्दर्भ समेत जोडिएको बुझिएको छ । निर्मलाको हत्याकाण्ड भएको दिन प्रतिक थापा कञ्चनपुरैमा रहेको भन्ने बारेमा समाचार प्रशारण भएको र त्यसलाई पुष्टि गर्न केही बाइटहरूको समेत प्रयोग भएको रेडियोमा कार्यरत पत्रकारहरू बताउँछन । यद्यपी उक्त समाचार सुन्ने बित्तिकै गृहमन्त्रालयको निर्देशनबाट बन्द गरिएको थियो ।

समाचार रोकिनुमात्रै त ठूलो कुरा होइन समाचारपछि केही पत्रकारको फोन ट्रयाप गरेर गृहमन्त्रालयले दुःख दिएको स्वयं पत्रकारहरू बताउँछन । समाचार प्रशारण भएको भोलिपल्ट केही पत्रकारलार्इ दिउँसभरी गृह मन्त्रालयमै बोलाएर सोधपुछ गरिएको एक पत्रकारले बताए ।

हामीले गृहमन्त्रायको आदेशमा बन्द भएको उक्त समाचारका बारेमा प्रस्तोता माधव दुलालसँग पनि चासो राख्यौ । उनले सुरूमा घटनाको विषय बताउनै चाहेनन् । यद्यपी उनले उक्त समाचारपछि आफूलाई गृहमन्त्रीको प्रेस संयोजक किरण भट्टराईले फोन गरेर चसो व्यक्त गरेको बताए । उनले एक साताभन्दा बढी समय आफ्नो मोबाइल ट्रयापिङमा परेको समेत बताए । गृहले समाचार प्रमुख रोशन पुरीसहित समाचारसँग सम्बन्धित चार पत्रकारको फोन ट्रयापिङ गरेको बुझिएको छ ।

समाचारमा सत्यता नभए खण्डन गर्ने वा अन्य कानुनी कारबाहीमा जाने स्थापित मान्यताहरू रहेका छन । तर समाचार रोक्न निर्देशन दिने र समाचार रोकेपछि पनि पत्रकारहरूले तनाव भोग्दा समेत नेपाल पत्रकार महासंघले चुँको सुइकोसम्म नपाउनुले अनेक आशंका उब्जाएको छ ।

नेपाल पत्रकार महासंघका दुई जना पूर्व केन्द्रीय सदस्य नै घटनाका प्रत्यक्ष साक्षी हुनु समाचरकै विषयलाई लिएर पत्रकारको मोबाइल ट्रयापिङ हुनुले यथार्थ बाहिर ल्याउने र सार्वजनिक गर्ने भन्दा पनि लुकाउनमा सबैले प्रयत्न गर्नुले समाचार रोकिएको प्रकरण रहस्यमय बनेको छ । समाचार रोकिसकेको अवस्थामा ती पत्रकारको मोबाइल गृहले किन निगरानीमा राख्यो होला ? हामी यसको खोजीमा जुटौँका छौँ ।

(विशेष जानकारीः रेडियो थाहा सञ्चारका समाचार प्रमुख रोशन पुरीको भनाइ उनकै अनुरोधमा हटाइएको छ ।–सम्पादक )

प्रकाशित मिति : 21:14