११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दशैँले छोएन सिद्धबाबा आश्रमका वृद्धवृद्धालाई

–निरु गौतम
३१ असोज, बुटवल । यतिबेला जताततै बडादशैँको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।

 

सबैतिर बडादशैँको रौनक छाउँदा यो आश्रममा बस्ने वृद्धवृद्धालाई दशैँले छोएकै छैन । आफ्नै सन्तान र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु दशैँमा पनि खिन्न मन बनाएर बसेका छन् । “चाडबाड आएर के गर्नु आफ्ना परिवारसँग चाड मनाउन नपाएपछि हामीलाई दशैँ आएर के पो भयो र ?”, ८७ वर्षीय पहलेरोका क्षेत्रीले दुःखेसो पाेखे ।

रोल्पा वेदधाराबाट दुई वर्षअघि वृद्धाश्रममा आइबसेका क्षेत्रीलाई परिवारको खुशी कहिल्यै मिलेन । सम्पत्तिका कारण आफ्नै एक मात्र छोराले मुद्दा मामिला गरी घर निकाला गरेपछि वृद्धाश्रमको सहारामा बाँचेका क्षेत्री खान र बस्न पाउनुलाइ नै खुशी ठान्नुभएको छ । “म त बेवारिसे भइसकेको थिएँ, धन्न वृद्धाश्रममा आश्रय पाएँ यसैमा खुशी छु, मलाई कुनै चाडपर्वको महत्व छैन”, उनि भन्छन्, “आफ्नै छोरा र नातिले नसोचेको व्यवहार गरे, उमेर छउन्जेल उनैका लागि भारतमा मरी मरी पसिना बगाएँ, अहिले बूढेसकालमा यो हालत भयो ।”

विगत १० वर्षदेखि वृद्धाश्रममै जीवनयापन गरेका रामेछापका रामबहादुर श्रेष्ठको मन पनि चाड आउँदा खिन्न हुन्छ । उमेरले ७३ वर्ष पार गरेका श्रेष्ठका एक छोरी हुनुहुन्छ । उमेरमै जीवन साथी गुमाएका श्रेष्ठलाई परिवारको कुरा गर्दा भक्कानो छुट्छ । आश्रममा बस्नेलाई के को चाड, दिए खाने हो आँसु झार्दै श्रेष्ठ भन्नुहुन्छ, “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।” उमेरले झण्डै ९० पुग्न आँटेकी गुल्मी रिडिका वृद्धा चमेली बजिमयको व्यथा पनि उस्तै छ । जन्मँदै आफनो छोराको मृत्युले सन्तानविहीन बनेपछि बहिनीको छोरालाई आफनै सन्तानसरह माया दिएर हुर्काएकी चमेलीलाई उनैले झुक्काएर वृद्धाश्रम पुर्याए । “जसलाई छोरा बनाएर लालनपालन गरेँ, उसैले यहाँ छोडेर गयो”, चमेली भन्छिन्, “मैले त कहिले दशैँ, कहिले तिहार सबै बिर्सें ।”

चमेलीको कुरामा सहमति जनाउँदै पाल्पा तानसेनका शीलप्रभा शाक्यले पनि सन्तानले नहेर्दाको पीडा मन छुने गरी व्यक्त गरे । “खान बस्न त यहाँ पनि केही समस्या छैन, तर परिवारको माया साथको अभाव जहिले खड्किन्छ उनिहरूलार्इ”, अरूको सहारामा बसेकालाई चाडको अर्थ नहुनेरैछ ८० वर्षीय शाक्यले भने ।

सबैजनालाई परिवारकै सदस्यले यहाँ छोडेर गएका हुन । कति गएदेखि फर्केर पनि आउँदैनन् । आफ्नै सन्तान र आफन्तले आश्रममा ल्याएर छोड्दा कस्को मन रुँदैन र ? १५ वर्षदेखि आश्रममा वृद्धवृद्धालाइ रेखदेख गर्दै आउनुभएकी माया रेश्मी भन्छिन्, “त्यो सम्झँदा सबैजना रून्छन् पछि आफै मन बुझाउँछन् ।”

बुटवलका समाजसेवी स्वर्गीय गणेशमान सैँजुले आफ्नो दिदीको स्मृतिमा २०६१ सालमा यो आश्रम स्थापना गरेका थिए । आठ जना वृद्धवृद्धा रहेको यो आश्रममा सबैजना ७० वर्षमाथिका छन् । वृद्धाश्रमका लागि सैँजु परिवारले  १५ लाखको अक्षयकोष स्थापना गरेको छ । त्यसबाट आउने ब्याजले आश्रमको खर्च धानिएको आश्रमका सञ्चालक अनुपमान सैँजुले जानकारी दिए । त्यसबाहेक विभिन्न सङ्घसंस्थाहरुले आश्रमका लागि सहयोग दिने गरेका कारण सञ्चालनका लागि सहज भएको बताए ।

प्रकाशित मिति : October 17, 2018 at 4:11 pm