१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

धितोपत्र दलाललाई चार श्रेणीमा वर्गीकरण गर्ने बोर्डको प्रस्ताव

१३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी, प्रविधिमैत्री र संस्थागत बनाउने उद्देश्यसहित व्यवसायीलाई चार अलग श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव अघि सारेको छ ।

बोर्डले तयार पारेको ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ मा दलाल व्यवसायीको पूँजी, जोखिम वहन क्षमता, सेवा विस्तार र संस्थागत क्षमताका आधारमा श्रेणी निर्धारण गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित नीतिअनुसार दलाल व्यवसायीलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार श्रेणीमा विभाजन गरिनेछ । प्रत्येक श्रेणीका लागि छुट्टाछुट्टै प्रवेश मापदण्ड, पूँजी आवश्यकता र सेवा सञ्चालनको सीमा तोकिने प्रस्ताव छ ।

सबैभन्दा धेरै सेवा श्रेणी ‘क’ का धितोपत्र व्यापारीले प्रदान गर्न पाउनेछन् । उनीहरूले धितोपत्र दलाली तथा आदेश कार्यान्वयनका अतिरिक्त निक्षेप सेवा, मार्जिन कारोबार, बजार निर्माण, योग्य संस्थागत लगानीकर्ता सेवा, आफ्नै खाताबाट कारोबार, लगानी परामर्श तथा अनुसन्धान, लगानी व्यवस्थापन, प्रत्याभूति, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीलगायतका सेवा सञ्चालन गर्न सक्ने प्रस्ताव गरिएको छ ।

श्रेणी ‘ख’ लाई पूर्ण सेवा धितोपत्र दलालका रूपमा विकास गर्ने प्रस्ताव छ । यस्तो श्रेणीका व्यवसायीले दलाली तथा आदेश कार्यान्वयनसँगै निक्षेप सेवा, मार्जिन कारोबार, बजार निर्माण, आफ्नै खाताबाट कारोबार, लगानी परामर्श, अनुसन्धान, लगानी व्यवस्थापन, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीजस्ता सेवा दिन पाउनेछन् ।

त्यस्तै श्रेणी ‘ग’ का दलाल मुख्यतः कारोबार र ग्राहकका आदेश कार्यान्वयनमा केन्द्रित हुनेछन् । आवश्यक स्वीकृति प्राप्त गरेमा निक्षेप सेवा, मार्जिन कारोबार, आफ्नै खाताबाट कारोबार, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्रीजस्ता सेवा सञ्चालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । तर छुट्टै अनुमति नलिई उच्च जोखिमयुक्त वित्तीय गतिविधि सञ्चालन गर्न भने रोक लगाइनेछ ।

श्रेणी ‘घ’ लाई विशिष्टीकृत धितोपत्र दलालका रूपमा विकास गर्ने प्रस्ताव छ । यस्तो श्रेणीका व्यवसायीलाई ऋणपत्र कारोबार, संस्थागत धितोपत्र दलाली वा बजार निर्माणजस्ता तोकिएका विशेष सेवामा केन्द्रित गरिनेछ ।

जोखिमअनुसार थप पूँजी र अनुमति

नीतिले उच्च जोखिमयुक्त सेवा सञ्चालन गर्ने दलाल व्यवसायीका लागि थप पूँजी, प्रविधि, दक्ष जनशक्ति र जोखिम व्यवस्थापन क्षमता अनिवार्य बनाउने प्रस्ताव गरेको छ ।

मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, छोटो बिक्री र अन्तरदिवसीय कारोबारजस्ता सेवाका लागि छुट्टाछुट्टै स्वीकृति तथा जोखिम नियन्त्रणका व्यवस्था लागू गर्ने प्रस्ताव छ ।

बोर्डले दलाल व्यवसायीको पूँजी पर्याप्तता र वित्तीय सबलता बढाउनुका साथै ग्राहकको रकम तथा धितोपत्र सुरक्षित राख्न छुट्टै व्यवस्था गर्नुपर्ने विषयलाई समेत नीतिमा प्राथमिकता दिएको छ । यससँगै सुशासन, आन्तरिक नियन्त्रण र जोखिममा आधारित नियमन तथा सुपरिवेक्षण प्रणाली बलियो बनाउने प्रस्ताव गरिएको छ ।

ग्राहक सुरक्षादेखि साइबर सुरक्षासम्म

प्रस्तावित नीतिमा लगानीकर्ता सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ । ग्राहकका गुनासा समाधान गर्न प्रभावकारी संयन्त्र स्थापना गर्ने, लगानीकर्ता क्षतिपूर्ति कोषलाई प्रभावकारी बनाउने तथा ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने प्रस्ताव छ ।

त्यस्तै डिजिटल ग्राहक दर्ता, साइबर सुरक्षा, प्रणाली अवरुद्ध हुँदा सेवा निरन्तरता र जोखिममा आधारित नियामकीय प्रतिवेदन प्रणालीलाई दलाल व्यवसायको अनिवार्य संस्थागत संरचनासँग जोड्ने प्रस्ताव गरिएको छ ।

तीन चरणमा सुधार

बोर्डले प्रस्तावित नीति कार्यान्वयनलाई तीन चरणमा अघि बढाउने योजना बनाएको छ ।

पहिलो चरणमा दलाल व्यवसायीको संस्थागत क्षमता, पूँजी, ग्राहक सम्पत्ति सुरक्षा र साइबर सुरक्षा सुदृढ गरिनेछ । दोस्रो चरणमा मार्जिन कारोबार तथा धितोपत्र सापटीजस्ता बजार सेवाको विस्तार गरिनेछ ।

तेस्रो चरणमा भने अनुसन्धान, लगानी परामर्श तथा संस्थागत वित्तीय सेवासहितको एकीकृत मध्यस्थता प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ ।

हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीलाई नयाँ संरचना र मापदण्डमा रूपान्तरण हुन सहज होस् भनेर संक्रमणकालीन अवधि उपलब्ध गराउने प्रस्ताव पनि नीतिमा गरिएको छ ।

बोर्डको प्रस्ताव कार्यान्वयनमा आएमा हाल सीमित सेवा र व्यक्ति–केन्द्रित व्यवस्थापनमा आधारित रहेको धितोपत्र दलाल व्यवसायलाई पूँजी, प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत क्षमताका आधारमा फरक–फरक स्तरमा विकास गर्ने बाटो खुल्नेछ ।

प्रकाशित मिति : September 29, 2026 at 8:45 pm