२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

लगानीकर्ताले देउवालाई बुझाए ६ बुँदे मागः १२ कराेडकाे सीमा हटाउनदेखि जोखिम भारित औसत १०० % कायमसम्म

११ जेठ, काठमाडाैं । सेयर लगानीकर्ताहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । विभिन्न ६ बुँदे माग सहित नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, निवर्तमान अध्यक्ष छाेटेलाल राैनियार, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित अन्य लगानीकर्ताहरूले देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गराउन आग्रह गरेका छन् ।

यस्तै १२ करोडसम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् । सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुराेध गरेकाे छन् ।

साथै, लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने, विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्ने, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने ब्यवस्था गर्न अनुरोध गरेका छन् ।

यी मागहरु क्रमशः सम्बोधन भई कार्यान्वयनमा ल्याउँदा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुन गई सरोकारवाला सबै पक्षको आयमा वृद्धि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रका रुपमा यस पुँजीबजारलाई स्थापना गर्न सक्षम र सफल हुने ज्ञापनपत्रमा उल्लेख छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १३:२६