२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

योगेश भट्टराईको प्रश्नः कांग्रेसले जनयुद्ध स्वीकार गरेको हो ?

८ जेठ, काठमाडाैं । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले नीति तथा कार्यक्रमको बुँदा नं १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति जनाए । उनले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन ? भनी प्रश्न गरे ।

नेता भट्टराईले नेपाललाई एउटा समतामुखी राज्यका रुपमा विकास गर्न महिला, दलित, पिछडिएको क्षेत्र र राज्यको मूलप्रवाहीकरणमा समेटिन नसकेका व्यक्तिका लागि नीति तथा कार्यक्रममा विशेष कार्यक्रम हुनुपर्ने बताए ।

हिमाली र पहाडी क्षेत्रबाट मानिस तराई र ठूला सहरमा बसाइँसराइँ गरिरहेको उल्लेख गर्दै उनले हिमाल र पहाडमा स्थानीय मानिसलाई अड्याउन सकिएन भने देशको संरचना के हुन्छ ? भनी प्रश्न गरे ।

मध्यपहाडी पुष्पलाल राजमार्गको निर्माण बसाइँसराइँ रोक्नका लागि गरिएको बताउँदै उनले मधेसका उर्वर भूमि खण्डित र बिक्री नहोस् भनेर आफूहरुले त्यो अवधारणा ल्याएको जिकिर गरे ।

नेता भट्टराईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थान बनाउनु कमजोरी नभएको स्पष्ट पार्दै व्यवसायिकरुपमा सञ्चालन गर्न नसक्नु चै कमजोरी भएको बताए । भारतसँग कूटनीतिक सम्झौतामार्फत विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अघि बढाउन उनले सुझाव दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १४:००