२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारीः गर्भनर अधिकारी

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रभित्र जलवायु परिवर्तनको प्रभावलाई कम गरी ग्रीन फाइनान्सिङलाई प्रोत्साहन गर्न वित्तीय संस्थाहरुलाई ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा गर्ने कार्य गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लेखा पेशेवरहरुको दोस्रो सम्मेलनमा उनले विश्वमा देखिएको जलवायु परिवर्तनको प्रभाव आर्थिक क्षेत्रमा पनि पर्ने भन्दै आर्थिक तथा वित्तीय क्षेत्रमा पर्ने असरलाई कम गर्न नेपाल सरकारले मौद्रिक नीति मार्फत नै ग्रीन ट्याक्सोनोमिको मस्यौदा बनाएर काम गरिरहेको बताए ।

उनले भने ‘यो आर्थिक वर्ष ०८९/०८० को मौद्रित नीतिमार्फत ग्रीन फाइनान्सिङलाई प्रोत्साहन गर्नको लागि हरित बर्न निष्कासन गर्ने, ग्रीन बर्नलाई इस्यु गर्ने,खासगरि वित्तीय क्षेत्रभित्र जलवायु जोखिमको रिपोर्टिङ गर्ने लगायतका विषय समावेश गरेर ग्रीन ट्याक्सोनोमिको मस्यौदा तर्जुमा गर्ने कार्य हामीले अगाडि बढाइरहेका छौं ।’

उनले ट्याक्सोनोमीसंग सम्बन्धित समस्यालाई नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरमा भैरहेको अभ्यासमा भरोसा हुनेगरि अन्तर्राष्ट्रिय निकायहरुको परामर्शमा काम गरिरहेको उल्लेख गरे । उनले ग्रीन ट्याक्सोनोमीको सबै डकुमेन्ट तयार भैसकेपश्चात् वातावरणीय रुपमा दिगो मानिने आर्थिक गतिविधिहरु पहिचान गर्न स्ट्याण्डर्ड विकास गर्न, तथा फ्रेमवर्कको तर्जुमा गर्न सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा रहेको बताए ।

त्यस्तै, गर्भनर अधिकारीले उक्त कार्यले वित्तीय क्षेत्रका कम्पनी तथाजलवायु परिवर्तनलाई न्यूनीकरण र स्रोत संरक्षण गर्न,प्रदूषण रोकथाम गर्न, तथा जैविक विविधता संरक्षण गर्ने जस्ता वातावरण संरक्षणका गतिविधि वा लगानीको मूल्याङ्कन गर्न साझा भाषा र मापदण्डको एक खालको सेट प्रदान गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : May 18, 2023 at 1:31 pm