२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

रेशम चौधरी जेलबाट नछुट्ने, सर्वोच्चबाट पनि जन्मकैदको फैसला


२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको हाे ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।

इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ। सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।  अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

कारागारबाट उनले खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको छ। उनकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १७:३२