२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अर्थतन्त्रको पुनरसंरचनाको आवश्यकताः स्वर्णिम वाग्ले

२ जेठ, काठमाडाैं । अर्थविद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद डा स्वर्णिम वाग्लेले अर्थतन्त्रको पुनरसंरचनाको आवश्यकता रहेको बताएका छन् । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल : स्वदेशी समिट, २०२३’ मा बाेल्दै वाग्लेले नेपालले आफ्नो हित अनुकुल हुनेगरी केही वस्तु तथा सेवालाई संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको बताए ।

विगतमा खुला बजार अर्थतन्त्रले मान्यताअनुसार चलेपनि अब भने केही वस्तु र सेवालाई राज्यले संरक्षण गर्नैपर्ने भएको उनले उल्लेख गरे ।
“पहिले उपभोक्तालाई हेरेर विश्वका जुनसुकै ठाउँमा भएपनि सस्तो मूल्यमा वस्तु पाउनुपर्छ भन्ने थियो । तर अहिले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका कुरा पनि आउँछन् । यसका लागि नीतिगत रुपमा केहि सम्बोधन गर्नुपर्छ”, वाग्लेले भने ।

अब यसबारे बहस आवश्यक रहेको भन्दै उनले सापेक्षिक र प्रतिस्पर्धात्मक लाभका वस्तुको पहिचान गरी त्यसको संरक्षण र बजारीकरणमा जोड दिनुपर्ने बताए । सरकारले बनाउने नीति नियमबारे पहिले निजी क्षेत्रले सीमित धारणा बनाएर जाने गरेकोमा अहिले राष्ट्रिय परिप्रेक्ष्यमा कुरा उठाउने गरेको पनि उनले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १६:११