नयाँ स्टक एक्सचेन्ज रोक्न सरकारले गरेको निर्णयलाई नेप्से कर्मचारी संघले गर्याे स्वागत
३१ वैशाख, काठमाडाैं । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोक्न गरेको निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले स्वागत गरेका छन्।
नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गरेका हुन्। ‘सरकारी स्वामित्वको राष्ट्रिय सम्पत्ति नेप्सेलाई कमजोर बनाउन सिमित स्वार्थ समूहको लागि नयाँ स्टक एक्सचेञ्ज खोल्न दिने नेपाल धितोपत्र बोर्डको प्रयासलाई सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषद्बाट रोक्ने निर्णय भएकोमा उक्त निर्णयलाई नेप्से कर्मचारी संघ हार्दिक स्वागत गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरण प्रकृयामा नीतिगत भ्रष्टाचार तथा आर्थिक चलखेल भएको दावी सहित रोक्न माग गर्दै संघीय संसदमा आवाज उठाउनुहुने सबै माननीय सांसदहरु, नेपाल सरकार, संचारकर्मी, विज्ञ तथा सरोकारवाला लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं, विज्ञप्तिमा उल्लेख छ ।
साथै, नेपाल सरकारले हरेक वर्ष बजेट वक्तव्यमा नेप्सेको पुनः संरचना सम्बन्धि बिषय समाबेश गरेतापनि कार्यान्वयन तहमा समस्या रहेको जगजाहेर छ । आ.व.२०८०/८१ को वजेट वक्तव्यमा नेप्से संचालक समितिले प्रस्ताव गरे बमोजिम कार्यान्वयन हुने गरी नेप्सेलाई Corporatization र Modernization को माध्यम बाट यही आ.व. भित्र तत्काल पुनःसंरचना गरिनुपर्ने संघले माग गरेको छ।
नेप्से पुँजीबजारको दोस्रो बजार सञ्चालन गर्ने नेपाल सरकारको स्वामित्वमा स्थापित एकमात्र सार्वजनिक संस्थान हो। ‘यस संस्थाले आफ्नो स्थापनादेखि निरन्तर नाफा आर्जन गर्दै आएको विषय सबैमा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै प्रत्येक वर्ष नेपाल सरकारलाई उल्लेखनीय रुपमा लाभांश वितरण तथा राष्ट्रिय राजश्वमा योगदान गर्दै आएकोमा आर्थिक वर्ष २०७८–७९ मा सबैभन्दा बढी आयकर बुझाई नेपाल सरकारबाट मध्यम स्तरीय करदाताको समूहमा उत्कृष्ट करदाता कम्पनीको उपाधि प्राप्त गरेको छ।’
प्रकाशित मिति : May 14, 2023 at 5:14 pm









