२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मकः घरेलु महासङ्घ

३१ वैशाख, काठमाडाैं । घरेलु तथा साना उद्योग महासङ्घले नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक भएको भन्दै त्यसको वस्तुनिष्ट कार्यान्वयनमा जोड दिएको छ ।

त्रैमासिक समीक्षामा उल्लेख भएबमोजिम वाणिज्य बैंकले कूल कर्जा लगानीको ११ प्रतिशत लघु, घरेलु तथा साना र मझौला उद्योगमा लगानी गर्नुपर्ने व्यवस्थाप्रति महासङ्घले ध्यानाकर्षण गराएको छ । केही क्षेत्रमा लगानीका लागि सकारात्मक सूचक देखिए पनि लघु, घरेलु तथा साना उद्यमीले कर्जा नपाएको गुनासो गरिरहेको महासङ्घले ध्यानाकर्षण गराएको छ ।

लघु, घरेलु तथा साना उद्यमीलाई बैंकहरूले सहुलियतपूर्ण कर्जा उपलब्ध नगराएको उद्यमीहरूको व्यापक गुनासो रहेको सन्दर्भमा २०७९ चैत मसान्तसम्म एक लाख ४७ हजार आठ सय सात जना ऋणीलाई सहुलियतपूण कर्जा उपलब्ध गराएको तथ्याङ्कप्रति पनि महासङ्घको चासो रहेको छ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एकपटकका लागि तोकिएका शर्तहरूको अधीनमा रही २०८० असार मसान्तभित्र कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न पाउने व्यवस्थालाई महासङ्घले सकारात्मकरूपमा लिएको छ ।

कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइने पुनर्कर्जा सुविधालाई निरन्तरता दिनुलाई सकारात्मकरूपमा लिइएको महासङ्घको भनाइ छ ।

प्रकाशित मिति : May 14, 2023 at 9:16 am