प्रदेश २ को राजधानीमा १० वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या
२८ असोज, काठमाडाैँ । प्रदेश नम्बर २ कोे अस्थायी राजधानी रहेको धनुषामा एक दश वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ का राम अशिष यादवकी १० वर्षकी छोरी मनिता कुमारी यादवकाे शुक्रबार राति बलात्कार पश्चत हत्या भएको प्रहरीले जनाएको छ ।
बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिका मनिताको शव शनिबार दिउँसो घरबाट झण्डै १ किलोमिटर टाढा धान खेतमा फेला परेको हो । राति ९ बजे खाना खाएर मेला हेर्न गएकी बालिका बिहानसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्नुको साथै ईलाका प्रहरी कार्यालय औरहीमा समेत जानकारी गराएको थियो ।

बालिकाको शव शनिबार घरबाट एक किलोमिटर टाढा धानको खेतमा फेला परेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । बालिकाको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार नै दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाँउपालिका-५, का ३२ वर्षका बिनोद मुखिया र औरही गाउँपालिका-३, पर्वाहाका ३० वर्षीय नथुनि पण्डित रहेकाे उपरीक्षक थपलियाले जानकारी दिए । पक्राउ परेका दुवैजनालो आफूहरुले नै सामुहिक बलात्कार गरेर बालिकाको हत्या गरेको स्वीकारेको उपरीक्षक थपलियाले बताएका छन ।
प्रकाशित मिति : 07:43







