५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे छलफल

२२ वैशाख, काठमाडाैं । बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना भएको छ। आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौँडामा डिजिटल बागमती संवाद इन एसोसिएसन विथ फोनपे आयोजना भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठको उपस्थिति थियो।

कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्व गौडा, प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक निराजन कोइराला, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिस्टार रेवतीप्रसाद सापकोटा, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठसँगै उच्च सरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो।

कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको प्रयोगबिना समृद्धि सम्भव नभएको बताए। ‘प्रविधिको प्रयोगबाट मात्रै समृद्धि सम्भव छ भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट छ,’ उनले भने, ‘त्यसका लागि सूचना प्रविधिमैत्री कानुन निर्माण गर्ने र भएका कानुनलाई समयानुकूल परिमार्जन गर्ने र कार्यान्वयन गर्नेमा प्रदेश सरकार प्रतिबद्ध छ।’

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्थाबारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिबीच बृहत छलफल भएको छ। संवादमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

कार्यक्रममा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई–गभर्नेन्सविज्ञ विक्रम खतिवडाले बागमती प्रदेशको डिजिटल गभर्नेन्स बारे प्रस्तुती दिएका थिए।

यस्तै बागमती प्रदेशको डिजिटल पूर्वाधारबारे नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास शाखाका सहायक निर्देशक निराजन कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए भने बागमती प्रदेशको डिजिटल क्यापाबिलिटी ल्यान्डस्केप विषयमा इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए।

संवादमा बागमती प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो। सेसनमा वक्ताका रुपमा बागमती प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, बागमती प्रदेश सञ्चार रजिस्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा, नेरी सोलुसनका सुरेन्द्र योञ्जन र क्यान महासंघ मकवानपुरका शिवकमान श्रेष्ठ सहभागी थिए।

यसअघि कोशी प्रदेश र मधेस प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ। बागमती प्रदेशपछि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ।

आयोजकले ग्रान्ड प्रोग्रामका रुपमा असार ८ र ९ गते काठमाण्डौमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ। गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १०:३४