६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


२१ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले रायमाझी विरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद दिएकाे हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले रायमाझी विरुद्ध तीन दिनको म्याद थप भएको बताए ।

उनले भने,‘रायमाझी विरुद्ध तीन दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध तीन दिनको म्याद थप गरेको हो । उनी विरुद्ध अब थप अनुसन्धान हुन्छ ।’ प्रहरीका अनुसार रायमाझी विरुद्ध संगठित अपराध तथा ठगि मुद्या अन्तर्गत अनुसन्धान भइरहेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न भएको अभियोगमा उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि उनलाई बिहीवार बिहान काठमाडौं ल्याइएको हो । बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो ।
प्रहरीले पूर्वगृहमन्त्री थापाका छोरा प्रतिक थापा र उनका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:२१