६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउको कुनै जानकारी छैनः प्रहरी प्रवक्ता कडायत


२१ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीले नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी पक्राउको बारेमा कुनै जानकारी नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दैनिकीसँग कुरा गर्दै रायमाझी पक्राउको जानकारी नभएको बताए । सामाजिक सञ्जालमा रायमाझी पक्राउ परेको सूचनाहरू भाइरल बनेको छ यद्यपी प्रहरीले उनी पक्राउ परेकोबारे जानकारी नभएको बताएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर विकले पनि एमाले सचिव रायमाझीको खोजीकार्य जारी रहेको तर प्रहरी पक्राउ गरिनसकेको बताए । उनले अहिले पनि रायमाझीको खोजी तीब्र पारिएको जानकारी दिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने अभियान अन्तर्गतको मानवतस्करीमा संलग्न रहेको पाइएपछि रायमाझीका लागि बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । उनको छोरा सन्दीप भने बुधबार राति नै पक्राउ परिसकेका छन ।

बुद्ध एयरको टिकट क्यान्सिल 

बुधबार राति ९ बजे भैरहवाबाट काठमाडाैँ फर्किने टिकट भए पनि सचिव रायमाझी टिकट क्यान्सिल गरेर उतै बसे । त्यसपछि मोबाइल फोन समेत अफ गरेका रायमाझी प्रहरीको सम्पर्कमा भने रहेको स्रोतले बताएको छ । उनी सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर काठमाडाैँ फर्किनेक्रममा रहेका थिए । प्रहरीले उनलाइ काठमाडाैँ प्रवेश गरेपछिमात्र पक्राउ गर्ने तयारी गरेको स्रोतले जनाएको छ । उनको नाममा बुधबार नै पक्राउ पुर्जी जारी भैसकेको छ ।

महानिरीक्षक कुँवर पनि बुटवलमै

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर पनि बुटवलमै रहेका छन । उनी बुधबारदेखि बुटवलमा रहेका छन । प्रहरीको एउटा भवन उद्घाटनका लागि कुँबर बुटवल पुगेका हुन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०९:४९