२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

११ बैशाख, झापा । शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।

नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताए । उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पु¥याउने बताए ।

आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले बन्द भएको बजार सञ्चालन गर्न सबै क्षेत्रबाट पहल भएको बताए । गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पु¥याउने उनको भनाइ छ । “यहाँ उत्पादित कृषिजन्य वस्तु बेच्न झिलझिले, दूधेलगायतका बजारमा पुग्नुपथ्र्यो”, उनले भने, “अब त्यो झन्झटबाट मुक्त हुनुका साथै बाह्य व्यापारीलाई समेत आकर्षित गर्न मद्दत पुग्छ ।”

वडा नं ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले बजार क्षेत्रको जग्गा व्यक्तिको नामबाट नगरपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए । उनले बजार क्षेत्रको जग्गा २०४२ सालमा स्थानीय छ दाताले प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १३:०७