१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

वैशाख १९ बाट आईपीओ निष्काशन गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता मूल्य कति ?

११ वैशाख, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ।  कम्पनीले वैशाख १९ गतेदेखि प्रिमियममा निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुन आउने ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ अर्थात् १०० रुपैयाँ अंकित दरका कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्ने लागेकाे हाे । कम्पनीले निष्काशन गर्ने कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीयका लागि जारी गर्नेछ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँ प्रिमिय बापत ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेकालाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमिय बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ।

घोराही सिमेन्टको आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन्। दाङकै बिंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाले पनि यो आईपीओमा आवेदन दिन पाउनेछन्।

कम्पनीकाे आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा जेठ २ गते र ढिलोमा जेठ १७ गते हुनेछ। स्थानीयले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इन्डस्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। विदेशमा रहेका श्रमिकले भने जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।

प्रकाशित मिति : April 24, 2023 at 9:34 am