२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

७ बैशाख, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ ९राज नाग० भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताए ।

विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्र्तीण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ भएको पुष्टी गरेका छन । उनका अनुसार २०७६ जेठमा पनि घतानकै कोशीपानीको जङ्गलमा उनले सोही प्रकारको कोब्रा फेला पारेका थिए।

नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताए । उनका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ । नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो ।
यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने अध्येता चोखालको भनाइ छ । यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको उनले बताए ।

यो कोब्रालाई नचलाउने ,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने अध्येता चोखालको भनाइ छ । म्याग्दीमा २०७६ मा भेटिएको सो नाग ‘किङ कोब्रा’ अर्थात् नै भएको किङ कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका थिए । अहिले पनि सोही कोब्रा पुनः खड्काको घरमा भेटिएको प्राणी शास्त्रका जानकार चोखालले बताए । उनका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पमध्ये किङ कोब्राको स्ङ्ख्या अत्यन्त न्यून रहेको छ ।

यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको उनले जानकारी दिए । उनका अनुसार यसले आहाराको रुपमा अन्य सर्पलाई नै खाने गर्दछ । कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनको भनाइ छ । यसलाई विश्व संरक्षण सङ्घको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको जनाइएको छ ।

त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । उनका अनुसार यो सर्प विश्वव्यापिरुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १३:०१