२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या ३८६ पुग्‍यो

६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

यसैबीच पछिल्लो समय संक्रमण दर बढ्न थालेपछि सरकारले संक्रमण थप फैलन नदिन सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

संक्रमण भएपछि आइसोलेसनमा ५ दिनभन्दा बढी समय बस्दा कुनै पनि लक्षण नदेखिए र २४ घण्टाभित्र औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १६:४४