१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

बालिका बलात्कार गर्नेसँग घुस खाएर गलत रिपोर्ट दिने दुर्इ डाक्टर निलम्बित

२४ असोज, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले १२ वर्षीया बालिका बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई चिकित्सकको लाइसेन्स निलम्बन गरेको छ। काउन्सिलले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै डा रम्भा गोइत र डा विजयकुमार सिंहलार्इ अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट समेत वञ्चित गराउने निर्णय गरेको काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले बताए ।

गत भदाै ८ गते राति १०:४५ मा धनुषाकाे जनकनन्दनी गाउँपालिका-२ बस्ने करण मण्डलले नावालिग बालिका खजुरी (नाम परिवर्तित)लाई जबरजस्ती करणी गरेका थिए। समितिको प्रतिवेदनमा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको उल्लेख छ। त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए ।

त्यसपछि बालिकाका परिवारले पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । सरकारी वकिलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणमा सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ।

यस्तो छ काउन्सिलको निर्णय:

मिति २०७५।०५।०८ गते राती २२ः४५ बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा वडा नं. २ बस्ने करण मण्डलले नावालिग बालिका बर्ष १२ कि नाम परिवर्तित खजुरी १ लाई जबरजस्ती करणी गरेपश्चात मिति २०७५।०५।०९ गते निज पीडितलाई जनकपुर अञ्चल अस्पतालमा शारीरिक जाँच गर्ने चिकित्सकहरु डा. विजयकुमार सिंह ( दर्ता नं. ३१५५) र डा.रम्भा गोइत (दर्ता नं. १०२०६) तथा सोहि बालिकाको मिति २०७५।०५।२५ मा शारीरिक जाँच गर्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंह (दर्ता नं. २१२२७) को प्रतिवेदन फरक पर्न गएको हुँदा यसमा केकसो भएको हो भनि दुबै प्रतिवेदन प्रतिलिपि र सिडि राखी एकिन रिपोर्टका लागि मिति २०७५।०६।०२ को जिल्ला सरकारी वकील कार्यालय, धनुषा, मिति २०७५।०६।१६ को महान्यायधिवक्ताको कार्यालय, काठमाडौ र मिति २०७५।०६।१८ र २० गतेको गृह मन्त्रालयको पत्र प्राप्त हुनआएको सन्दर्भमा नेपाल मेडिकल काउन्सिलले मिति २०७५।०६।१९ गते काउन्सिल सदस्य डा. कालुसिंह खत्रीको संयोजकत्वमा प्रा.डा. हरिहर वस्ती (फरेन्सिक विज्ञ), डा. मधु तुम्बाहाम्फे (प्रसुती तथा स्त्री रोग विशेषज्ञ) र श्री पुष्करराज नेपाल (स्वास्थ्य मन्त्रालयका कानून उपसचिव) रहने गरि बनाएको छानविन समितिले मिति २०७५।०६।२३ गते बुझाएको प्रतिवेदन तथा व्यवसायिक आचरण समितिको सिफारिस उपर बहस छलफल हुँदा निम्नानुसार निर्णय भयो ।

१. जनकपुर अञ्चल अस्पतालमा निज पीडित वालिकाको शारीरिक जाँच गर्ने चिकित्सकहरु डा.रम्भा गोइत र डा. विजयकुमार सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको ठहरभएकाले निज चिकित्सकहरुलाई अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने । यसको जानकारी सम्बन्धित चिकित्सकहरु तथा सरोकारवाला कार्यालयहरुलाई तत्काल जानकारी गराउने ।

२. काउन्सिलले गठन गरेको छानविन समितिले बयानका लागि बोलाउँदा अटेर गरिबस्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिई प्रष्टिकरणका लागि काउन्सिलको कार्यालय, बाँसबारीमा उपस्थित हुन सूचित गर्ने । निज डा. राकेशकुमार सिंह उक्त हदम्याद मितिसम्म विना कुनै मनासिव कारण हाजिर नभए वा अटेरगरि बसे निजको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने । यसको जानकारी सम्बन्धित चिकित्सक तथा सरोकारवाला कार्यालयहरुलाई तत्काल जानकारी गराउने ।

३. नेपाल मेडिकल काउन्सिलले बनाएको छानविन समितिले दिएको प्रतिवेन अनुसारको सुझाव कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय मार्फत सरोकारवाला सम्वन्धित निकायमा पठाउने ।

डा कृष्णप्रसाद अधिकारी
प्रवक्ता तथा कार्यकारी सदस्य

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार २२:३१