२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अाजदेखि

–कुमार चौलागाई
२४ असोज, काठमाडाैँ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अाज बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ ।

एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने जनाएको छ । त्यसपछि दशैँ, तिहार र छठको बिदा अवधिभर एक महिनाका लागि लिग स्थगित हुनेछ । २४ गते एउटा, २५ र २६ गते दुई÷दुई खेल हुनेछन् । असोज २४ गते मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । उक्त खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच ११ बजे एन्फा कम्प्लेक्समा खेल हुनेछ । सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच एन्फामै दोस्रो खेल हुनेछ । असोज २६ गते बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् ।

“पहिलो चरणको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैँ, तिहार, छठ लगायत महत्वपूर्ण चाडपर्व सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ”, निर्देशक मिश्रले भन्नुभयो । उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्बल विजयी भएको थियो ।

लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख तथा तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ ।

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : October 10, 2018 at 6:00 am