३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छः सभापति देउवा

२८ चैत, काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए ।

“पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो”, उनले भने। सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए ।

“पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ”, सभापति देउवाले भने । उनले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरे।

सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले संविधान निर्माण भएको सात वर्ष पूरा हुँदा पनि सङ्घीय शिक्षा ऐन निर्माण हुन नसक्नु दुःखको कुरा भएको बताए । उनले माओवादी जनयुद्धका क्रममा मारिएका शिक्षकका छोराछोरीलाई सरकारले हेर्न नसकेको गुनासो गरे ।

‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।

विस २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ । नेपाल शिक्षक सङ्घमा हाल देशभर ८० हजारभन्दा बढी शिक्षक सदस्य रहेको अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : April 11, 2023 at 2:53 pm