एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा
२७ चैत, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ ।
सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
पिप्लेमा रहेको रघुगङ्गा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही रु १० हजार र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही रु पाँच हजार नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
यस वर्षको एसइई परीक्षामा रघुगङ्गा माविबाट २५ जना, मुक्तिधाम माविबाट ७१ जना र ज्ञानोदय माविबाट १९ परीक्षार्थी सहभागी छन् ।शाहीले यसअघि रघुगङ्गा माविमा आफ्नो दिवङ्गत बुबा देवबहादुर शाहीको स्मृतिमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् भने यस क्षेत्रको सामाजिक कार्यमा समेत सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति : April 10, 2023 at 1:01 pm









