१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

बाणिज्य महासंघ उपाध्यक्ष उम्मेदवार श्रेष्ठ समूहकाे वाचा पत्रः ब्याजदर घटाउन भूमिका खेल्ने

२२ चैत, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारि दिएका उद्योगी अञ्जन श्रेष्ठले, उद्योगी व्यवसायीले धान्न सक्ने ब्याजदर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार काठमाडौंमा आफ्नो प्यानलको परिचय तथा वाचा पत्र घोषणा कार्यक्रम आयोजना गर्दै उनले बैङ्कको सस्तो ब्याज र सरल रूपमा वैदेशिक ऋण प्राप्त गर्न सक्ने नीतिगत व्यवस्थाका लागि सक्दो पहल गर्ने बताएका हुन् ।

कार्यक्रममा उनले उद्योगी व्यवसायीले धान्न सक्ने व्याजमा ऋण उपलब्ध गराउन तथा विगत देखि नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि आफ्नो टोलीले काम गर्ने उनको वाचा छ ।

उनले भनेका छन् ‘नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि महासङ्घले हर सम्भव प्रयास गर्ने वाचा गर्दछु । अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन् ।

सिमेन्ट उद्योगी, छड उद्योगी, निर्माणजन्य उद्योग, जग्गा कारोबार नहुँदा व्यवसायी छट्पटीएको अवस्था छ । होटेल रेस्टुरेन्ट, जुत्ता, चप्पलदेखि हरेक प्रकारका उद्योगी व्यवसायी मर्कामा छन् । बजारमा मागमा कमी आएको छ, उत्पादन तथा बजार माग बढाउन नीतिगत तवरबाट गाँठो फुकाउनु हाम्रो प्रमुख दायित्व हुनेछ यो दायित्व पूरा गर्नका लागि हर सम्भव प्रयास गर्ने छौँ ।’

यही चैत २८ र २९ गते हुने महाधिवेशनमा उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ सहित तीन जनाले प्यानल सहित उम्मेदवारी दिएका छन् ।  निर्वाचनमा उमेश लाल श्रेष्ठ र रामचन्द्र सांघाई पनि उपाध्यक्ष पदका लागि प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:३१