१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

हर्कसंग भेटेपछि बालेनको ट्वीटः नेपालमा विकासकाे बाटो कसैले छेक्न नसकोस्

२१ चैत, काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीच पहिलो भेट भएको छ। स्थानीय चुनावका दुई चर्चित उम्मेदवारहरुबीच भएको पहिलो भेटमा दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइ दिएका छन् ।

बाँसको कप्टेरोमा विभिन्न रङका धागो बुनेर चारकुने सिलाम साक्माको छेउमा फुर्को बनाइएको सलाम साक्मा साटा साट गरेको फोटो ट्वीटरमा पोष्ट गर्दै मेयर साहले भने, “सिलाम साक्माले’’ मृत्युको बाटो छेकेझै, नेपालमा विकासकाे बाटो कसैले छेक्न नसकोस ।’ लेखेका छन् ।मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण संस्कारहरूमा प्रयोग गरिने सिलाम साक्मा भनेको लिम्बु भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ भन्नाले रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा यसलाई लिने गरिएको छ ।

त्यस्तै साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेका छन् । उनले फेसबुकमा तश्विरसहित लेखेका छन् । ‘आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’

खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । काठमाडौंमा रहेका हर्कले आजै साँझ संस्कृती मन्त्री सुदन किराँतीलाई भेटेका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, लगायत विभिन्न मन्त्रीहरुलाई उनीहरुकै मन्त्रालयमा पुगेर भेटका थिए ।

प्रकाशित मिति : April 4, 2023 at 7:12 pm