७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

-लक्ष्मण सिटाैला

सन्त्रासले जलिरहेको छ मुटु
हरेक सुर्योदय सगै-
एक प्रकारको त्रास भित्रीन्छ दैलोबाट
बिहानीको घामसगै
एक रात बाच्न पाएकोमा
भगवानलाई
धन्यवाद दिनुपर्ने भएको छ
ग्यास सिद्दिदै छ
चामलको बोरा रित्तिदै छ
हरेक दिन
रित्तिदै गएका छन
आखाका सपनाहरू पनि
एक मुठी रायोको साग
सय रुपैयाँले पनि पाउन सकिन्न
हरियोपरियो नखाको धेरै दिन भो
कमजोर हुदैछ मान्छे भित्रको मान्छे
यो दुर्बोध्य पिरो हुरि
मडारिदै छोएर भाग्यो मलाई पनि
हामी घाइते छौ
हरेक दिन थपिने
उपप्रधानमन्त्री र मन्त्रीहरूका घरमा
रत्यौली र जाड पार्टी हुन्छ
यता गरिबका घरमा
नुन खाने पैसो छैन
पहाडमा लास उठाउने युवा छैनन
हरेक दिन
बाक्सामा प्याकिङ भएर
ज्युदा ज्यान गएका छोराहरू
लास भएर भित्रीन्छन
सतिले सरापेको देश
यहाँ नयाँ राजनहरु
सत्ता र भत्ताका लागि
हरेक दिन
प्याकेजमा सहमति गर्छन
यो भन्दा घातक बर्बरता त
मान्छेको मासु खाने
इदिअमिनले पनि देखाएन होला
देश नै अरुको कब्जामा गैसक्यो
तिमीहरू भने मन्त्री भएको खुशीमा
कतिदिन रत्यौली नाचिरहन्छौ ह ?
जनताका काम खोसिएकोमा
जनताका नाम्लो छिनेकोमा
जनताका छोराछोरी मरेकोमा
रत्तिभर पिर छैन
तिम्रा गला भने
बिदेशबाट आयातित
फूल अविर र सुगन्धित अत्तरले
हरेक दिन सिगारिन्छन

प्रकाशित मिति : April 1, 2023 at 12:56 pm