१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ‘ग्लोबल मनी विक’

१५ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंकले युवा तथा विद्यार्थीमाझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेकोे छ।

नेपाल राष्ट्र बैंकको बार्षिक कार्यतालिकाअनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विककोे ११औँ संस्करण ग्लोबल आइएमई बैंकले यही चैत ६ देखि चैत १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारा सहित सम्पन्न गरेको हो।

ग्लोबल आइएमई बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौँ विद्यार्थीको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।

यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामूलक अन्तर्क्रिया सञ्चालन भएका छन्। यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्री पनि प्रसारण गरेको छ।

यसका साथै युवा तथा विद्यार्थीलाई बैंकका शाखा कार्यालयहरुको अवलोकन एवं साक्षात्कार गराउने कार्यक्रमसमेत विभिन्न ठाउँमा आयोजना गरिएको छ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रुपमा थालिएको अभियान हो। तसर्थ, बैंकले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी बैंकिङ शिक्षाको प्रचार–प्रसार गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। मुलुकको लगभग सबै वित्तीय सूचकांकमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : March 29, 2023 at 3:49 pm