२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रधानमन्त्रीको विरोध गरेको आरोपमा समातिएका तीन युवा धरौटी बुझाएर छुटे

१४ चैत, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा जेल पठाइएका ती युवा धरौटी बुझाएर रिहा भएका छन् ।

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि नाराबाजी गरेका बझाङका १८ वर्षीय विप्लव खड्का, सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत र बागलुङका ३० वर्षीय सोम शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा सात दिन थुनेपछि उनीहरूसँग जिल्ला प्रशासन कार्यालयले जनही ५ हजार रुपैयाँ धरौटी मागेको थियो । तर धरौटी नबुझाएको भन्दै हिजो तीनै जनालाई जेल चलान गरिएको थियो । ‘धरौटी बुझाएपछि आज छोडिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले विप्लव, उद्धव र सोम धरौटी तिरेर छुटेको बताए । ७ चैतमा बैंक ब्याज मिनाहाको माग गर्दै नाराबाजी गरेका उनीहरूको मुखसमेत प्रहरीले थुनिदिएको थियो । सोही दिन पक्राउ गरी ७ दिन थुनेपछि जिल्ला प्रशासन कार्यालयले हिजो मागेको जनही ५ हजार धरौटी तिर्न नसक्दा उनीहरूलाई जेल पठाइएको थियो । विरोधीलाई मुद्दा चलाएर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेकाे छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १६:०६