एडिलेडमा चितवनेहरुको भेला हुँदै
८ चैत, एडिलेड। चितवन स्थायी घर भई साउथ अष्ट्रेलियालाई कर्म थलो बनाएकाहरुको भेला यहि शुक्रवार मार्च २४ मा हुने भएको छ । पछिल्लो समय अष्ट्रेलियाका विभिन्न राज्यहरुमा समेत नेपालीहरुको बसोबास बढे संगै जिल्ला-जिल्लाका सम्पर्क समाज गठन गर्ने क्रम बढेको छ ।
शुक्रवारको भेला आयोजकहरु मध्येका कौशल उप्रेतीले प्रथम भेला भएकाले चितवन समाज साउथ अष्ट्रेलियाको तदर्थ समिति निर्माण गरिने बताए । उनले समाजले मुख्य त चितवन जिल्ला र चितवन घर भै साउथ अष्ट्रेलिया बसोबास गर्नेहरुको हितमा काम गर्ने बताए । थप समाजको उद्देश्य कार्य योजना वारेमा भेलामा नै वृहद छलफल गरिने समेत बताए ।
भेला स्थानिय अकल्याण्ड पार्कमा दिनको ४ बजे देखी ७ बजे सम्म संचालन हुने जनाइएको छ । भेलामा साउथ अष्ट्रेलियामा रहेका सम्पुर्ण चितवनवासीलाइ उपस्थित हुन आयोजकहरुले अनुरोध गरेका छन् ।
यस अगाडि पनि केहि जिल्लाका सम्पर्क समाजहरु गठन भए पनि गठन भन्दा बाहिरी गतिविधीमा खासै अगाडि नआए पनि साउथ अष्ट्रेलियामा चितवन स्थायी घर भई यहा कर्म थलो बनाउनेहरुको संख्या नेपाली समुदाय भित्र उल्लेखनीय भएकाले यसले समुदायका लागि केहि गर्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति : March 22, 2023 at 4:50 pm









