७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

अर्थतन्त्रमा देखिएको चुनौती सम्बोधन सरकारको पहिलो प्राथमिकताः मन्त्री श्रेष्ठ


८ चैत, काठमाडाैं । भौतिक योजना तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले मुलुकमा देखिएको आर्थिक समस्या सम्बोधनका लागि आवश्यक प्रयास गरिरहेको दाबी गरेका छन् । नगर विकास कोषले बुधबार ललितपुरमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमताविकास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले, अब सरकारको ध्यान मुलुकको आर्थिक विकास र सम्वृद्धीतर्फ केन्द्रित गरिने बताएका हुन् ।

मुलुकले आन्तरिक तथा बाह्य कारणले विभिन्न खाले चुनौतीको सामना गर्नु परेकोले विकासमा पछाडि परेको बताउँदै उनले भने ‘मुलुकमा देखिएको विभिन्न चुनौतीमध्ये अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्न तत्काल ध्यान केन्द्रित गर्नुपर्ने छ ।’ परिवर्तनको महसुस हुने गरी राज्यका विभिन्न अङ्ग र विद्यमान संस्थाहरूले काम गर्न नसकेको बताएका मन्त्री श्रेष्ठले, नगर विकास कोषले पनि आवश्यकता र आपूर्ति बीचको आर्थिक तथा प्राविधिक खाडललाई पुरा गर्ने महत्त्वपूर्ण अङ्ग बन्नु पर्नेमा जोड दिए ।

उनले थपे ‘यो कुरा नगर विकास कोषको हकमा पनि लागु हुन्छ । कोषले पनि आफ्नो स्पिडलाई पुनर्संरचना गर्न र सहरी विकासको क्षेत्रमा आफूले गरी आएको योगदानको अझ वृद्धि होस ।’ नीतिगत रूपमै पुनर्संरचना गर्दै नगर विकास कोषलाई सबल वित्तीय संस्था बनाउन जरुरी भएको बताएका उनले नतिजा आउने गरी काम गर्ने विधि र सोचको खाँचो औँल्याए ।

सहरी विकास पूर्वाधारबाट गरिने आर्थिक तथा सामाजिक विकासका कामले नागरिकको जीवन यापन सहज हुने अपेक्षा गरिए पनि अपेक्षाकृत काम नभएको उनको गुनासो छ । पूर्वाधारका क्षेत्रमा केही उपलब्धि भए पनि व्यवस्थित सहर निर्माण र पुर्नवास को काममा उत्साह जनक काम नभएको उनको भनाई छ । नगर विकास कोषले तीन तहका सरकारको बीचमा पुलको भूमिका निर्वाह गर्दै आएकोले नीतिगत पुनर्संरचना आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १५:४०