३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना

७ चैत, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उपनिर्वाचन हुन लागेको हो ।

आयोगले आज सार्वजनिक सूचना जारी गरी उक्त समयावधि दिइएको जनाएको छ । विद्यमान कानूनअनुसार सभाको रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने व्यवस्था छ । सोबमोजिम आयोगको चैत ६ गतेको बैठकले ती क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरेको थियो । आयोगले यस अघि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकाइसकेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १९:५१