५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कर्जाको ब्याजदर एकल अंकमा ल्याउन हानको माग

६ चैत, काठमाडाैं । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान) ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ ।

अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।  नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्वद्ध बैंक एवं वित्तीय संस्थाहरुबाट नेपाली होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूबाट बचाई पुनर्जिवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको भन्दै ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हाे ।

बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम तागेताबारे देशैभरीका प्रतिष्ठित सदस्य होटल प्रतिष्ठानहरुबाट आएका गम्भीर प्रकृतिका गुनासोहरुप्रति ध्यानाकर्षण भएकाे हानले जनाएकाे छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १६:४८