नागढुंगादेखि महादेववेशीसम्म ज्यानै जाने जाम, चितवनकी रजनी चाैधरीको एम्बुलेन्समै मृत्यु
१८ असोज, काठमाडाैँ । नागढुंगाको जामले एम्बुलेन्समै एक जना बिरामीको मृत्यु भएको छ । चितवनको सौराह निवासी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको प्रहरीले जनाएको छ । चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेको बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै ज्यान गएको हो ।
भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो । चौधरीलाई बोकेर आएको एम्बुलेन्सले मुस्किलले पृथ्वी राजमार्ग पार गरेको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घन्टासम्म जाममा बस्नु परेको थियो । जाममै फसेका बेला बिरामी बुधबार बिहान करिब १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंदेखिको ट्राफिक जाम पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिकाको सात किलोभन्ने स्थानसम्म पुगेको हो । सडक मर्मतका कारण ४५ किलोमिटरसम्म सवारी जाम पर्न थालेको छ ।
प्रकाशित मिति : 09:17









