१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

म्याग्दीकी अरिंगालवाली सिर्जना, जसले प्रतिप्लेट ५ सयमा बेच्छिन अरिंगाल 

–जमुना वर्षा शर्मा
१६ असोज, बेनी । अरिङ्गाल व्यवसाय गर्दै अाएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन् ।

लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनि पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलार्इ ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् ।

दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि आफैँले अरिङ्गालको व्यापार गर्दै अाएकी छिन् । उनलार्इ यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा हुन् ।

म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको एक हजार ५०० मा खरीद गर्दै अाएकी छिन् । शुरुमा त  २ हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल याममा भने १ हजार ५०० सय मानामा पाउने गरेको उनि बताउँछिन् । सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट  ५०० बेच्छिन् । अहिले यसैको व्यापारमा भ्याइनभ्याइ भएको उनकाे भनार्इ छ ।

होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ? भनी सोध्दा उनि भन्छिन् । “यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत नै यसको प्रचार गरे । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।” सिर्जना भन्छिन्, शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने हो?’ भन्ने स्टाटस राखे, त्यसपछि ‘अरिङ्गालको नयाँ व्यावसाय’ भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो ।

“अहिले त काठमाडौँ र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको छ तर मागअनुसार पुर्याउन सकेकी छैन उनि भन्छिन् । सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको दाबी गर्छिन् । “विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन् ।” उनि भन्छिन्, “अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ ।”

अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्छन् “एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिङ्गालको खाजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।”

गौतमले आफूहरु दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताउँछन् । “अहिले त एकदमै माग बढ्दो छ तर अरिङ्गाल पाउनै गाह्रो छ” अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिँड्नु परेको उनकाे अनुभव छ । ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र रु ४० हजार जति कमाएको रिमबहादुरको भनाइ छ ।

उनि भन्छन् “अरिङ्गाले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ अब कृषि विज्ञले कुनै सल्लाह दिएभने गर्न सकिन्छ कि !”

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १६:२५