पाँच रातको प्रदर्शनसँगै महाकाली नाच सम्पन्न
–रमेश गिरी
१४ असोज,भक्तपुर । विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलबार रातिबाट शुरु भई गए राति गुरुहरूको टोलमा प्रर्दशन गरी नाच सम्पन्न गरिएकोे हो । महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले सञ्चालनमा ल्याएको नाच मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भई हरेक रात टोलटोलमा गएर प्रर्दशन गरिएको थियो ।
समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले भन्नुभयो, “पूर्णिमादेखि रातिराति सञ्चालन भएको यो नाच अब हरेक वर्ष सञ्चालनमा ल्याउँछौँ, यो नाच हरेक दिन साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा नचाइएको थियो ।” नाच दथुटोल, दिगुटोल, गँगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोल परिक्रमा गरी बालकुमारी पु¥याइएको थियो ।
नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रूपमा यो नाच नौ देखि १३ तालमा नाचिने बताउनुभयो । उहाँले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाचलाई जोगाउन सजिलो भएको बताउनुभयो ।
यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरू नाचको तालसँग मिल्दैन । नाचमा देवी एक, महालक्ष्मी एक, बेताल चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्या दुई, माक दुई गरी १५ जनाले विभिन्न देवीदेवताको रूपमा नाच्ने गरेको उहाँले बताउनुभयो ।
बाजाको तालसँगै विभिन्न स्वरूपमा नाचिने यो नाचमा देवी र दानवको युद्धलाई समेत चित्रण गरिएको बताउँदै गुरु श्रेष्ठले लगातार १३ तालमा नाच्दा रात बित्ने भएकाले सबै टोलमा सबै तालमा नचाउन भने नसकिने जानकारी दिनुभयो ।
परापूर्वकालमा यो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै अर्का गुरु हीराकाजी लामा श्रेष्ठले देवताका रुपमा नाच्नेहरूमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउनुभयो । समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचको मुकुटहरू लुगाहरू आवश्यक सामग्रीहरु किनेको र नाचमा करीब रु आठ लाख खर्च लागेको बताउनुभयो ।
प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १८:०२