५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

 किर्ते कागजात बनाएर करोडौंको जग्गा बिक्री गर्ने मालपोत कार्यालय चावहिलका प्रमुख कमलप्रसाद तिमल्सिना पक्राउ

१४ असाेज, काठमाडौं ।   किर्ते कागजात बनाएर करोडौंको जग्गा बिक्री गर्ने मालपोत कार्यालय चावहिलका प्रमुख कमलप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।  मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत  तिमल्सिना बुढानिलकण्ठस्थित चन्दन कृष्ण कायस्थको स्वामित्वमा रहेको  जग्गा किर्ते कागजात बनाएर बिक्री गरेको अभियोगमा पक्राउ गरेकाे  महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनिल मल्लले जानाकारी दिएका छन् ।

डिएसपी मल्लकाअनुसार प्रमुख मालपोत अधिकृत तिमल्सिनासहित नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ र चावहिल मालपोतका दुई कार्यालय सहयोगी पनि पक्राउ परेका छन् । यसअघि भदौ तेस्रो साता गौशाला प्रहरीले चावहिल मालपोतका अन्य चारजना कर्मचारीलाई पनि नियन्त्रणमा लिएको थियो ।

२०६५ सालमा नक्सालका चन्दन कृष्ण कायस्थले खरिद गरेको बुढानिलकण्ठको जग्गा चन्दनले थाहै नपाई नक्कली चन्दनहरुले ६ करोडमा मालपोत कार्यालय चावहिलका कर्मचारीसँग मिलेर बिक्री गरेका थिए ।

चन्दनको नागरिकता लगायतका कागजात किर्ते गरेर रामेछाप सालु स्थायी घर भएका ध्रुवप्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र नक्कली जग्गाधनीको नामबाट वारेस लिएर जग्गा पास गरिदिने प्रदिप प्रसाद गौतमलाई भदौ १९ गते नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘जग्गा खरिद गर्नेहरुको बयानको आधारमा मालपोत कार्यालय चावहिलका कुल ८ जना कर्मचारी पक्राउ परिसकेका छन्’ डिएसपी सुनिल मल्लले भने, ‘पक्राउ परेकाहरुमाथि लिखत चथा संगठित अपराध मुद्धामा अनुसन्धान भइरहेको छ ।’

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट पछाडि रहेको उक्त साढे दुई रोपनी जग्गाको हालको बजार मुल्य करिब १० करोड पर्ने बताईएको छ । तर, किर्ते कागजात बनाएर ध्रुवप्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र प्रदिप प्रसाद गौतमले ६ करोडमा लेनदेन गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १३:४७