२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बैकहरूबीच मर्जरकाे लहरः अब वाणिज्य बैंकको संख्या २० मात्रै


५ फागुन, काठमाडाैं । वाणिज्य बै‌ंकहरूबीच मर्जरकाे लहर चलिरहेकाे छ । हाल केही वाणिज्य बैंकहरू मर्जरकाे प्रकृयामा छन्, केहीले एकिकृत काराेबार सुरू गरिसकेका छन् भने केहीले एकिकृत काराेबारकाे मिति ताेकेका छन् । कुनै समय वाणिज्य बैंकको संख्या ३२ वटा  रहेकोमा फागुन १२ पछि यसकाे संख्या २१ वटा मात्रै हुने छ ।

सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। यी बैंकले एकीकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकहरूकाे संख्या २१ मा सिमित हुँने भएकाे हाे । नेपाल राष्ट्र बैंककाे नीतिका कारण गत पुस महिनामै ८ वाणिज्य बैंकहरुले एकिकृत कारोबार गरेका छन् । त्यसैगरी सनराइज बैंक र लक्ष्मी बैंकले समेत एकिकृत कारोबार गरेपछि वाणिज्य बैंकको संख्या २० पुग्ने भएकाे छ ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुले पनि पुस २५ गतेदेखि ‘ग्लोबल आईएमई बैंक लिमिटेड’काे नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकले पनि ‘प्रभु बैंक लिमिटेड’ काे नामबाट कारोबार सुरु गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारीमा एनसीसी बैंक गाभिएसँगै कारोबार कुमारी बैंककै नामबाट काराेबार सुरु गरिसेका छन् ।

राष्ट्र बैंकले निरन्तर मर्जरमा नगएका वाणिज्य बैंकहरुलाई दबाब दिएसँगै चालु आवको दोस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरु मर्जरमा गएका छन् । राष्ट्र बैंकककाे दबाबका कारण नै पछिल्लो समय लक्ष्मी बैंक र सनराईज बैंकले एक आपसमा बराबर हैसियतमा मर्जरमा जाने सैद्धान्तिक सम्झौता गरेका छन् । यो सम्झौता कार्यान्वयन भएपछि भने वाणिज्य बैंकको संख्या २० पुग्ने छ ।

केन्द्रीय बैंकले २०७४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी वृद्धि गर्ने र संख्या घटाउने नीति लिएको थियो ।राष्ट्र बैंकको साेही नीति अनुसार २०७६ मा सबैभन्दा पहिला ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर भएको थियो ।

२०७४ मा अघि सारिएको नीतिसँगै यो बीचमा १० वटा वाणिज्य बैंक घटेका छन् । राष्ट्र बैंकको अध्ययनले नेपालमा वाणिज्य बैंकको सङ्ख्या अझै घट्ने बताएको छ । बैंकले वाणिज्य बैंकको संख्या बढीमा १५ पुग्ने सम्भावना रहेकाे जनाएकाे छ ।

मर्जरपछि सबैभन्दा ठूलो बैंक बन्याे ग्लोबल आईएमई

दुई दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको ग्लोबल आईएमई बैंक पछिल्लो समय बैंक अफ काठमाण्डूसँग ‘मर्ज’ भएपछि मुलुककै ठूलो वाणिज्य बैंक बनेको छ । मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुलपूँजी ५७ अर्ब रुपैयाँ, चुक्तापूँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्र्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकाे छ । दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहितअन्य धेरै वित्तीय परिसुचकहरुमाग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक भएकाे छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १३:३७

https://srdb.com.np/