१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राससमा मन्त्रीको आदेश कार्यान्वयन गर्न दुई महिना लाग्यो, सिलवाल र पाठकको जिम्मेवारी हेरफेर


१ जेठ, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा उत्तम सिल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाउनुभएको छ । पाठक यसअघि प्रधानसम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

रासस व्यवस्थापनले आजदेखि लागू हुने गरी उहाँहरुको जिम्मेवारी हेरफेर गरेको जनाइएको छ । उहाँहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायबमहाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकार्कालाई हस्तान्तरण गर्नुभयो ।

राससको दसौँ तहमा कार्यरत सिल्वाल र पाठक दुवै विसं २०५६ साल फागुन १९ गते रासस सेवामा प्रवेश गर्नुभएको थियो । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रीले करिब दुई महिना अघि नै पाठकलाई प्रधानसम्पादकबाट हटाउन निर्देशन दिनुभएको थियो ।

प्रधानसम्पादक भैसक्नुभएको पाठक भने अब प्रमुख समाचारदाताको जिम्मेवारीमा पुग्नुभएको छ । राससका अध्यक्षको कार्यकारी अधिकार कटाैती गरी महाप्रबन्धकलाई अधिकार थप्नेबारेमा समेत गृहकार्य भैरहेको छ । राससको अध्यक्षमा नेपाली कांग्रेस निकटको धर्मेन्द्र झा अध्यक्ष हुनुहुन्छ भने महाप्रबन्धकमा नेकपा एमाले निकटको सिद्धराज राई कार्यरत रहनुभएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १२:४४