भूकम्प पीडितले २ प्रतिशत ब्याजदरको ऋण अब यसरी पाउन सक्छन
१३ असोज, काठमाडाैँ । सरकारले भूकम्प पीडितलार्इ घर निर्माणमा दिने सहुलिय ऋणको नयाँ व्यवस्था लागू गरेको छ । सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी भैसकेको छ । सरकारले भूकम्प प्रभावित, विदेशबाट फर्केकासहित विभिन्न ७ वटा क्षेत्रमा सहुलियत कर्जा उपलब्ध गराउने उदेश्यले एकीकृत नयाँ कार्यविधि जारी गरेको हो । नयाँ व्यवस्था अनुसार भूकम्प पीडितले पनि तीन लाख रुपैयाँसम्मको सहुलियत ऋण सुविधा लिन सक्नेछन् ।
यसरी पाउन सकिन्छ ऋण
कार्यबिधि अनुसार सरकारले घोषणा गरेको तीन लाख रुपैयाँ अनुदान लिन सम्झौता गरेकाे हुनुपर्ने छ । आर्थिक अभावका कारण अहिलेसम्म घर बनाउन सुरु नै गर्न नसककाे हुनुपर्ने छ । अर्को बस्न योग्य घर नभएकाे हुनुपर्ने छ र निजी आवास अनुदान बाहेक अरु संस्थागत अनुदान नलिएका पीडितले मात्रै यो ऋण सुविधा लिन सक्नेछन् ।
यो मापदण्ड पूरा गरेका पीडितले बैंक तथा वित्तीय संस्थाबाट सामूहिक वा धितो जमानीमा ऋण प्रवाह हुनेछ । भूकम्प पीडितले ऋणका लागि निवेदन दिँदा भूकम्प पीडित परिचय पत्र, नागरिकताको प्रतिलिपि, घर बनाउन नसक्नुको कारण खुलेको कागजपत्रको प्रतिलिपि र धितोसम्बन्धी आवश्यक कागजपत्र संलग्न गरेको हुनुपर्नेछ ।
निवेदनसहित कर्जा माग गरेको २१ दिनभित्र बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत हुने या नहुने निर्णय गरिसक्नु पर्ने कार्यबिधिमा उल्लेख गरिएको छ । भने बैंकले ऋण नदिने भए कारणसहित लिखित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । पीडितले उक्त ऋण पाएको खण्डमा पाँच वर्ष भित्रमा चुक्ता गर्नुपर्नेछ । अनुगमनबाट कर्जा दुरुपयोग भएको भेटिए ब्याज सुविधा उपलब्ध हुने छैन । अनि ब्याज सुविधा लिइसकेको भएपनि असुल उपर हुने कार्यबिधीमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १९:००