५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

बर्दियामा स्वरोजगार बन्दै महिला

१३ असोज,बर्दिया । मधुवन नगरपालिका– ४ ढोढरीकी २६ वर्षीया मञ्जु थारुले तरकारीखेती, बाख्रा र बङ्गुरपालन गरी स्वरोजगार बन्ने प्रयास गर्नुभएको छ । पन्ध्र महिने कृषि प्राविधिक अध्ययन गर्नुभएकी उहाँले जागिर खानुभन्दा केही लगानी गरेर स्वरोजगार बन्न सके आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वासले यसतर्फ लागेको बताउनुभयो । मञ्जुले शुरुमा १० बाख्रा र चार बङ्गुर किन्नुका साथै तरकारी खेती पनि शुरु गर्नुभएको छ ।

शुरुमा थोरै लगानीमा सामान्य खोर बनाइ बाख्रा र बङ्गुर बाल्न शुरु गरे पनि विस्तारै व्यवस्थित र आधुनिक खोर बनाउने योजना रहेको बताउनुभएकी उहाँले यसका लागि करीब रू ७५ हजार लगानी गर्नुभएको छ । छोरी आफैले सिकेको सीपमा आधारित बाख्रा र बङ्गुरपालन गर्ने मनसाय बनाएकीले ऋण सापट गरी काम थालिएको बुबा रामजीवन थारुले बताउनुभयो ।

तरकारी खेतीका लागि शुरुमा एक रोपनी जमिनमा काउली रोपिएको र अरु थप तरकारी खेतीका लागि बेर्ना राखिएकाले धान काट्न बित्तिकै बिरुवा सारिने उहाँले बताउनुभयो । गरीबीका कारण पढने उमेरमा अरुको घरमा कमलहरी बस्नु पर्दा जीवन अन्धकार भएको थियो । दश वर्षको उमेरकी छोरीलाई पढाइ दिने शर्तमा चितवन नारायणघाटका रेञ्जर चुडामणि कँडेलको घरमा कमलहरीको रुपमा काम गर्न पठाउनु परेको थियो ।

कामसँगै शहरमा पढाइ राम्रै होला भनेर पठाएको थिएँ तर त्यहाँ भैँसी चराउने र भकारो सोर्ने काम मात्रै गराएको थाहा पाएपछि घरै फर्काएर ल्याएको बुबा रामजीवने बताउनुभयो । मञ्जुले तीन वर्ष कमलहरी बस्नुभयो । त्यति बेलासम्म १४ वर्ष लाग्नुभएकी उहाँले १५ वर्षको उमेरमा कक्षा ३ मा स्थानीय विद्यालयमा भर्ना हुनुभयो ।

पढ्ने मन भएकालाई उमेरले छेक्दैन भने झै २२ वर्षको उमेरमा प्रवेशिका परीक्षा पास पनि गर्नुभयो । मुक्त कमलहरीका लागि पठनपाठनमा सहयोग गर्ने विभिन्न सङ्घ संस्थामार्फत उहाँले कृषि प्राविधिक ९जेटिए० पनि अध्ययन गर्नुभयो । जागिरका लागि भौतारिनु भन्दा स्वरोजगार गर्दा नै भविष्य सुरक्षित हुने देखेर योजनाका साथ काम शुरु गरेको मन्जुले बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १५:२४