२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेर कसेका सेयर लगानीकर्ता निराश

-पवित्रा मुडभरी 

२७ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेकाे छ । बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हाे । बैंकले सार्वजनिक गरेकाे उक्त समीक्षामा सेयर बजारलाई समेटिएकाे छैन् ।

लाखौं सेयर लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जाको १२ करोडको सीमा र राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था परिमार्जन हुने अपेक्षा गरेका थिए । तर उनीहरूकाे अपेक्षालाई राष्ट्र बैंकले नसमेटेपछि निराशामा बदलिदिएकाे छ ।

गभर्नर महाप्रसाद अधिकारीले केही दिन अघि मात्रै एक कार्यक्रमा सेयरधितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंक सकारात्मक भएको संकेत गरेका थिए । साथै अर्थमन्त्री विष्णु पौडेलले पनि गभर्नर अधिकारीलाई सेयर बजारको समस्या हटाउनका लागि राष्ट्र बैंकले पहल गरिदिनु पर्ने बताउँदै आएका थिए ।

अधिकारीले पनि सेयर बजारप्रति राष्ट्र बैंक सकारात्मक भएको र ऋणीले भोग्नु परेको समस्या समाधानका लागि राष्ट्र बैंक सकारात्मक रहेको अभिव्यक्ति दिँदै आएका थिए । सार्वजनिक कार्यक्रममा नै सेयर बजारकाे समस्या समाधानका लागि राष्ट्र बैंक सकारात्मक रहेको अभिव्यक्ति दिँदै आएका उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भने कुनै लचकता देखाएनन् ।

यही विषयमा सोधिएको प्रश्नमा राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सेयर बजारका नीतिगत व्यवस्थालाई जानेरै राष्ट्र बैंकले नचलाएको बताए । सेयर बजारमा लचिलो नीति लिने बित्तिकै सेयरको मूल्य बढ्न गई थप माग सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेयर बजारको विषयमा कुनै पनि निर्णय नलिएकाे बताए ।

त्यस्तै, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक अवस्था हेरेर राष्ट्र बैंकले निर्णय गर्ने भएको हुँदा अहिले सम्पति बजार सम्बन्धि पुरानो नीतिलाई निरन्तरता दिएको बताए। तरलतामा सुधार हुँदै जाँदा मौद्रिक नीतिका कार्यदिशा पनि परिवर्तन हुँदै जाने उनको भनाइ छ ।

प्रकाशित मिति : February 10, 2023 at 1:56 pm