५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था गर्न गृहमन्त्रीसँग महिला नेतृहरुको माग

१२ असाेज, काठमाडौँ । बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था गर्न गृहमन्त्रीसँग महिला नेतृहरुले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् । सत्तारुढ दलका महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् ।

पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।
त्यसक्रममा महिला नेतृहरुले पार्टी नेता समेत रहेका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु लज्जित हुने अवस्था आएको गुनासो पनि गरे । गृहमन्त्री थापाले महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको आश्वसन दिएका छ् ।

उनले महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानविन गरी दोषीलाई कार्वाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउन प्रतिबद्ध रहेको बताएका थिए । मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन् । उनीहरुले यस्ता घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भिर नभएको आरोप पनि लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १४:३५