५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

प्रदेशसभा नियमावली, २०७४ पारित

२६ फागुन,धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ पारित गरेको छ ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा प्रदेशसभा नियमावली मस्यौदा समितिका अध्यक्ष एवं नेकपा (एमाले) का प्रदेशसभा सदस्य लीलाधर भट्टले ‘प्रदेशसभा नियमावली, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो ।

प्रस्तुत प्रस्तावमाथि नेकपा (माओवादी केन्द्र)का महेशदत्त जोशी र नेपाली काँग्रेसका टेकबहादुर रैका आउजीले समर्थन गर्नुभएको थियो । प्रस्तावमाथि भएको दफावार छलफमा भाग लिनु भएका काँग्रेसका भरतबहादुर खड्काले प्रस्तुत नियमावलीका तीनवटा बुँदाको विषयमा आफ्नो सुझाव पेश गर्नु भएको थियो ।

नियमावलीमा प्रदेशसभाको अधिवेशन आह्वान, अन्त्य, प्रदेशसभा सदस्यको उपस्थिति, आशन ग्रहण, बैठकको अध्यक्षता गर्ने कार्य्विधि, शपथ ग्रहण, प्रदेशसभा अन्तर्गतका समितिको विद्येयक पेश गर्ने तरिका, फिर्ता लिने, त्रुटि भए सच्याउने, बैठकका निर्णय गर्ने तरिका, सरकारको नीति कार्यक्रम पेश गर्ने, खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था समेटिएका छन् ।

यसअघि बैठक प्रारम्भ हुनासाथ माओवादी केन्द्रकी कुन्ती जोशी, राष्ट्रिय जनता पार्टीका मालामती राना र नेकपा (एमाले)की पूर्णा जोशीले कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार २० वर्षीया राधिका चौधरीमाथि बोक्सीको आरोपमा गरिएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारबाही र पीडित युवतीको उचित स्वास्थ्योपचारसहित क्षतिपूर्ति उपलब्ध गराउन सदनको ध्यानाकार्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ ।
रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १८:३२