५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

मन्त्री विष्ट र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

११ असोज, काठमाडाैँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षाका बारेमा स्वीट्जरल्याण्डको अनुभवबाट नेपालले लाभ लिनसक्ने बताउनुभएको छ । मन्त्री विष्टसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापेलरले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले सामाजिक सुरक्षाको प्रभावकारी बनाउन स्वीस सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो ।

मन्त्री विष्टले वैदेशिक रोजगारका लागि ‘सुरक्षित आप्रवासन’ परियोजना (सामी) मार्फत स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गर्दै परियोजनाअन्तर्गत आप्रवासन सूचना केन्द्र र रोजगार सूचना केन्द्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली युवाका लागि वैदेशिक रोजगार बाध्यताका रुपमा रहेकाले वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई तालीम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी दक्ष र सीपयुक्त बनाएर पठाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

भेटमा उहाँहरुबीच नेपाल र स्वीजरल्याण्डबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध आयामका विषयमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।

भेटमा राजदूत क्यापेलरले नेपाल सरकारले अघि सारेको कार्ययोजनाको प्रशंसा गर्दै स्वीस सरकार यसमा हातेमालो गरेर अगाडि बढ्न र सङ्ख्यात्मक सुधारका अतिरिक्त गुणात्मक नतिजा हासिल गर्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले सुरक्षित आप्रवासनका अतिरिक्त अन्य क्षेत्रमा पनि मिलेर काम गर्न सकिने र यसका लागि आपसी छलफल, संवाद र सञ्चारलाई निरन्तरता दिँदै जानुपर्ने धारणा राख्नुभयो ।

सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका विषयमा दुवै मुलुकबीच साझा बुझाइ र धारणा रहेको उल्लेख गर्दै राजदूत क्यापेलरले स्वीस सरकारको सहयोगमा सञ्चालित सामी परियोजनामार्फत नेपाल र स्वीस सरकारबीचको सहकार्यलाई थप मजबुद पार्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार २३:३३