५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

घरेलु तथा साना उद्योग विकास बैंककाे घोटाला प्रकरणमा अध्यक्ष प्रसाईंसहित ५ जना भ्रष्टाचारी ठहर 

११ असाेज, काठमाडौँ । घरेलु तथा साना उद्योग विकास बैंककाे घोटाला प्रकरणमा अध्यक्ष सिताराम प्रसाईंसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन् । अध्यक्ष सिताराम प्रसाईंसहित ५ जना कर्जा अपचलनको मुद्दामा दोषी ठहर भएका हुन् । प्रतिआना दुई लाख रुपैयाँ पनि नपर्ने जग्गालाई ७० लाख रुपैयाँसम्मको अधिक मूल्याङ्कन गरी कर्जा प्रवाह गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले गरेको छानबिनबाट प्रसाईंले नक्कली धितो खडा गरी कर्जा दुरुपयोग गरेको पाइएको थियो ।

प्रसाईंसहित ५ जना प्रतिवादीले कर्जा अपचलन गरेको भन्दै विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैधको इजलासले दोषी ठहर गरेको हो । कर्जा अपचलनको अभियोग लागेका प्रसाईंलाई १ वर्ष कैद र ३५ लाख रुपैयाँ जरिवानको सजाय सुनाइएको छ । यस्तै बैंकबाट कर्जा लिने खोसीं मार्केटिङ प्रालिका वारिस रहेका सुनिल प्रधानलाई १ वर्षको कैद सुनाइएको छ । खोसींका सञ्चालक केशवलाल खोसींबाट ७० लाख रुपैयाँ बिगो र ७० लाख रुपैयाँ जरिवाना गरी १ करोड ४० लाख रुपैयाँ असुल गर्न फैसला गरेको छ ।

बैंकका कर्जा प्रबन्धक हिम गुरुङलाई ३५ लाख रुपैयाँ जरिवानासहित ६ महिना कैद, बैंकका तत्कालीन महाप्रबन्धक पदमप्रसाद खतिवडालाई १० हजार जरिवानासहित ६ महिना कैद सजाय सुनाइएको छ । अख्तियारले कर्जा अपचनल प्रकरणमा सिताराम प्रसाई, भागवत श्रेष्ठ, हिम गुरुङ्ग, केशवलाल खोसीं श्रेष्ठ, सुनिल गुरुङ्ग, सुनिल प्रधान र पदम प्रसाद खतिवडा गरी ७ जना विरुद्ध २८ मंसिर २०७० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार २०:४२