परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न मन्त्री पोखरेलको निर्देशन
११ असाेज, काठमाण्डौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिनुभएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जनताप्रती उत्तरदायी भएर नतिजा आउनेगरी काम गर्न निर्देशन दिए ।
७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव, शिक्षा विकास निर्देशक, शिक्षा तालिम केन्द्र प्रमुख र मन्त्रालयका सबै बिभागिय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरण कार्याशाला गोष्ठीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरुलाई रुपान्तरणको प्रक्रियामा लैजाने निर्णय भएको जानकारी गराउँदै अब बिद्यालय सुधारका कार्यक्रम ल्याउन निर्देशन दिए। प्राविधिक शिक्षा र जीवन उपयोगी शिक्षा अनिवार्य आवश्यक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले ज्ञान र सिपमा आधारित शिक्षा प्रदान गर्नेगरी शिक्षाको पुर्नसंरचना आवश्यक भएको बताए । शिक्षामा बिज्ञान र प्रविधि अनिवार्य जोड्नुपर्ने बताउँदै मन्त्री पोखरेले विज्ञान र प्रविधिलाई बुझेर विकास गर्नुपर्ने बताए ।
शिक्षाको आमुल परिवर्तनको पक्षमा अाफु रहेकाे र सुधारको संकेत देखिएकाेले राष्ट्रले मागेको भन्दा आफु अनुकुल निर्णय गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलल नतिजामा आधरित भएर सबैको कामको मुल्याङ्न गर्ने बताए । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आजबाट आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकार मातहत सञ्चालन हुने शिक्षा सम्बद्ध कार्यक्रमहरु कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा मन्त्रालयका सहसचिव एवम् योजना महाशाखा प्रमुख बैकुण्ठ प्रसाद अर्यालले आ.व. २०७५/०७६ को शिक्षा तथा विज्ञान प्रविधि सम्बन्धी बजेट तथा कार्यक्रमको प्रस्तुत गरे । प्रदेश तहमा शैक्षिक कार्यक्रम कार्यान्वयन सँग सम्बन्धित समस्याहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख अर्यालले बताए । संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यका उपयुक्त विधि पहिचान गर्न, शैक्षिक कार्यक्रमको प्रगति प्रतिवेदन मोडालिटी र कार्यान्वयन विधि पहिचान गरी कार्यान्वयन गर्न गोष्ठीले सहयोग गर्ने अर्यालले बताए । गोष्ठी भोलिसम्म चल्नेछ ।
प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १९:४४