५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

पोखरामा जनएकता सहकारीबाट ९ लाख लुट्ने ३ जना पक्राउ

१० असोज, पोखरा । पोखराको जनएकता सहकारी लुटपाटगरेकाे अभियोगमा ३ जना पक्राउ परेका छन् । पोखराको सिर्जनाचोकस्थित उक्त सहकारी लुटीएकाे हाे । भदौ ३१ गते सहकारीबाट ९ लाख १४ हजार रुपैयाँ चोरी भएको थियो ।  पोखरा-१५ रामबजार बस्ने २० वर्षीया अन्जली गुरुङ, पोखरा-७ एयरपोर्ट बस्ने २२ वर्षीया बिनिता गुरुङ र पोखरा-६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना पक्राउ परेका हुन् ।

सहकारी रहेको भवनको तल्लाे तलाको सटर फोरेर काउन्टरबाट पैसा चोरी भएको थियो । प्रहरीको सक्रियतामा उनीहरुलाई बुधबार बुलौंदीबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सहकारीमा सेक्युरिटी गार्ड तथा सिसी क्यामरासमेत नभएको मौका पारी चोरी भएको थियो । चोरी भएको भोलिपल्टमात्र नजिकैको होटलका कर्मचारीले सटर फोरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १९:२२