२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

जनवादी विवाह गरेका माओवादीका माधव सापकोटालाई दाईजोमा १० तोला सुन !


३ माघ, काठमाडाैँ । सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै दुनियाँलाई सामान्ती भन्दै जनयुद्ध गरेका माओवादीका एक सांसदले दाईजो बापत १० तोला सुन लिएको स्वीकार गरेका छन् । अब्बल क्रान्तिकारीको रटान लगाएर युद्धमा लागेका सिन्धुपाल्चोकका माधव सापकोटाले दाईजो वापत १० तोला सुन लिएको सम्पत्ति बिवरणमा उल्लेख गरेका छन् ।

जवकी उनले भूमिगतकालमै जनवादी विवाह गरेका थिए । जनवादी विवाह गर्दा पनि सुन दाईजो लिने सिन्धुपाल्चोक क्षेत्र नम्वर एकका सांसद माधव सापकोटा हुन् । उनले सन्ध्या उपनामले चिनिने एक भूमिगत लडाकुसँग विवाह गरेका थिए ।

त्यसोत सन्ध्याको परिवार त्यो परिणाममा सुन दाईजो दिनसक्ने हैसियतको नभएको आफन्तहरु बताउँछन् । सुन,हिरा र कोईलाको अबैध ब्यपारमा संलग्न सापकोटा सिन्धुपाल्चोकमा नयाँ जलबिद्युत आयोजना आउनासाथ लगानी नगरी शेयर लिनेमा पर्दछन् । आयोजनामा अनेकौं बखेडा झिकेर समस्या उत्पन्न गराउने अनि शेयर माग्ने सापकोटाको भूमिगत बेलादेखिकै वानी हो । उनले जलबिद्युतमा शेयर रहेको पनि सम्पति बिवरणमा स्विकार गरेका छन् ।

सांसद सापकोटाले संघीय संसद सचिवालयमा बुझाएको बिववरणमा करोडौ सम्पत्ति भएको बताईएको छ । जवकि उनी बिद्यार्थीकालमै भूमिगत भएका थिए । खुल्ला राजनीतिपछि उनले देखिने जागिर वा व्यवसाय कुनै गरेका छैनन् ।
सापकोटाले संसद सचिवालयमा बुझाएको विवरण अनुसार उनका बुबा हरिप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको बलेफीमा १ रोपनी र बुबाकै नाममा सिन्धुपाल्चोककै कुविण्डे र फुल्पिङकोटमा ५० रोपनी खेतबारी पैतृक सम्पत्ति छ ।

श्रीमतीको नाममा कागेश्वरी मनहरा नगरपालिकामा ४ आना जग्गा ऋण (बैंक लोन) लिएर खरिद गरेको उल्लेख गरेका छन् । श्रीमतीकै नाममा भक्तपुरमा ५ आना जग्गा व्यवसायका लागि लिएको पनि विवरणमा समावेश छ । दाइजो र खरिद गरेको समेत गरी १० तोला सुन, एभरेष्ट बैंकमा आफ्नै नाममा ३ लाख रुपैयाँ नगद रहेको बताएका उनको नाममा सिन्धुपाल्चोक जलविद्युत कम्पनीको शेयर रहेको उल्लेख छ ।

काठमाडौंको घर निर्माणका लागि तीन जनासँग ९५ लाख ऋण लिएको पनि विवरणमा समावेश छ । सवारीसाधनतर्फ ल्याण्डकुजर जीप र श्रीमतीको स्कुटर, यसका अलावा ल्यापटप, प्रिन्टर लगायतका व्यक्तिगत प्रयोजनका सामाग्रीहरु रहेको विवरणमा उल्लेख छ । यो सम्पत्ति बिवरणकै आधारमा अनुसन्धान गर्ने हो भने सापकोटाको सम्पति बैध हुने देखिदैन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १२:१२