९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

२ माघ, काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु आपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । युनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा जान अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरेका हुन् । सम्झौता पत्रमा युनियन लाइफको तर्फबाट अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार यी तीनै वटा कम्पनी समान हैसियत अर्थात १ः१ः१ को अनुपातमा मर्जर गर्ने गरी स्वाप रेसियो तय गरेका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । जेठ ३ गते नेपाल बीमा प्राधिकरणबाट मर्जर स्वीकृति पाएका लिएका हुन् ।

मर्जपछि बन्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी राख्ने सहमति भएको छ । नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफका सीईओ मनोजलाल कर्ण बन्नेछन् भने गुराँस लाइफ र प्राइम लाइफका सीईओहरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् । कम्पनीको अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।

हाल युनियन लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड, गुराँस लाइफको २ अर्ब २३ करोड र प्राइम लाइफ इन्स्योरेन्सको २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्ता पुजीँ ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १०:२५