५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत शीघ्र सम्पन्न गर्न प्राधिकरणको पहल

–रमेश लम्साल
९ असोज,काठमाडौँ ।  सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ ।

आयोजना यही असोज ७ गतेदेखि बन्द नै गरेर मर्मत शुरु गरिएको छ । मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ ।

कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक रु तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भए पनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ ।

मर्मतको बारेमा जानकारी लिन आज आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीलाई आग्रह गर्नुभएको हो ।

हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ ।

आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात् २५ दिन लाग्ने छ ।

देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ ।

आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

यही असोज ७ गतेदेखि नै मर्मत शुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफँैले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:२७