व्यवहारमै यातायात एकाधिकार तोड्न सांसदद्वारा प्रतिनिधिसभामा माग
९ असोज,काठमाडौँ । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताउनुभयो ।
टिकट बुकिङकै दिन सकियो भनी पछि महँगोमा बेच्ने चलन रोकिनुपर्ने उहाँको भनाइ थियो । सांसद गणेश पहाडीले चाडपर्वमा हुने गरेको यातायात अव्यवस्था हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिन माग गर्नुभयो । पाँच वर्षमा सकिनुपर्ने राष्ट्रिय गौरवका आयोजना २० वर्षमा पनि नसकिएकाले समयमै सक्ने वातावरण तयार पार्नुपर्नेमा उहाँको जोड थियो ।
सांसद यज्ञराज सुनुवारले यातायात व्यवसायीले दशैँको अग्रिम टिकट खुला गर्ने विषयलाई एकाधिकारको लेनदेनका रुपमा प्रयोग गरेको आरोप लगाउनुभयो । सांसद लीलानाथ श्रेष्ठले ‘हटी सक्यो भनिएको एकाधिकार अन्त्य नभएको दशैँको मुखमा प्रमाणित भएकाले’ मन्त्रालयसँग ठोस कार्ययोजना माग गर्नुपर्ने बताउनुभयो ।
सांसद दुर्गा पौडेलले यातायात क्षेत्रमा भएको बेथितिले घण्टौँ जाममा बस्नुपर्दा समिति बैठकमा आउनै ढिला भएको गुनासो गर्नुभयो । समितिमा निर्माण व्यवसाय कम्पनी खोल्नुभएका सांसदलाई नराख्न पनि उहाँले माग गर्नुभयो ।
प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १६:५७